सभामुख घिमिरे र आयरल्याण्डका राष्ट्रपति माइकलबीच भेटवार्ता

 काठमाण्डौँ - सभामुख देवराज घिमिरेले शुक्रबार आयरल्याण्डका राष्ट्रपति माइकल डी हिगिन्ससँग शिष्टाचार भेट गरेका छन् । राजधानी डब्लिनस्थित राष्ट्रपति कार्यालयमा भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल भएको सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिए ।

भेटमा सभामुख घिमिरेले कुटनीतिक सम्बन्ध विस्तार भएको २४ वर्षमा दुई मुलुकबीच उच्चस्तरीय सम्बन्ध एवं सम्पर्क गहन हुँदै गएको बताए । ‘सन् २०१९ सेप्टेम्बरमा आयरल्याण्डको प्रतिनिधि सभाका सभामुखले गरेका  नेपाल भ्रमणले दुई संसदबीचको सम्बन्धलाई घनिष्ठ बनाएको छ,’ उनले भने ।

सभामुख घिमिरेले नेपाल र आयरल्याण्ड भौगोलिक रुपले टाढा भएता पनि कला, साहित्य, संगीत तथा संस्कृतिका माध्यमले नजिक रहेको उल्लेख गरे । ‘हाम्रा दुई मुलुकबीच विश्व शान्ति, मित्रता एवं सद्भाव जस्ता समान मुल्य मान्यताहरु हुन् । लोकतन्त्र, मानव अधिकार, विधिको शासन र स्वतन्त्रता हाम्रा साझा प्रतिबद्धताहरु रहेका छन्,’ सभामुखको भनाइ थियो ।