वित्तीय व्यवस्थापन सुधार्न एडीबीले १० करोड डलर ऋण दिने

 काठमाडौँ - नेपाल सरकारको वित्तीय व्यवस्थापन सुदृढ र विकेन्द्रीकरण प्रवद्र्धन गर्न एसियाली विकास बैंक एडीबीले १० करोड डलर सहुलियतपूर्ण ऋण दिने भएको छ। फिलिपिन्सको मनिलास्थित प्रधान कार्यालयले शुक्रबार नेपालमा उक्त प्रयोजनका लागि सहुलियत ऋण दिन स्विकृत गरेको हो । नेपाललाई प्राप्त हुने उक्त ऋण नेपाल राष्ट्र बैंकमा उल्लेख भएको विदेशी विनिमय अमेरिकी बिक्रीदरप्रति अमेरिकी डलर १३२.६५ अनुसार १३ अर्ब २६ करोड ५० लाख नेपाली रुपैयाँ हुन आउँछ । 

उक्त सहुलियत कर्जाका साथै एडीबीले नीतिगत कार्यहरूको कार्यान्वयन र संस्थागत सुदृढीकरणमा सहयोग गर्न प्राविधिक सहायता विशेष कोषबाट थप १५ लाख अमेरिकी डलर प्राविधिक सहायता अनुदान उपलब्ध गराउने योजना रहेको समेत जानकारी दिएको छ । यसले अहिलेको कार्यक्रमपछिको साझेदारी ढाँचाको कार्यान्वयनमा पनि सहयोग गर्ने एडीबीले बताएको छ ।