काठमाण्डौं — नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा आयोजित नाडा अटो शो २०२५ ले यस वर्ष ऐतिहासिक रेकर्ड कायम गरेको छ। पाँच दिनमै १,४९,८८१ दर्शकले प्रदर्शनी अवलोकन गरेका छन्। यो तथ्यांकले आम नेपाली उपभोक्ता नयाँ प्रविधि र अटोमोबाइल क्षेत्रमा भइरहेको नवप्रवर्तनप्रति उच्च चासो राख्ने गरेको स्पष्ट भएको नाडाले जनाएको छ।
शोको पाँचौं दिनमा नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारी, तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडाल, सिजी होल्डिङ्सका अध्यक्ष अरुणकुमार चौधरी तथा कलाकार सन्दिप क्षेत्रीलगायतले प्रदर्शनी अवलोकन गरेका थिए।
कार्यक्रम अन्तर्गत शुक्रबार सडक र यातायात विषयमा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यतामा अन्तरक्रिया सम्पन्न भयो। त्यस्तै मेड इन नेपाल विषयमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीको प्रमुख आतिथ्यतामा छुट्टै अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्षले शोको सफलतालाई नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको केन्द्र बनाउन महत्वपूर्ण कदमको रूपमा लिएको बताएका छन्। उनले प्रदर्शनी सफल बनाउन योगदान पुर्याउने सबै प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्मी तथा अवलोकनकर्ताप्रति आभार व्यक्त गरेका छन्।
उनका अनुसार, “नाडा अटो शो अब केवल प्रदर्शनी मात्र होइन, नवप्रवर्तन, उद्यमशीलता र भविष्य–तयारीको राष्ट्रिय उत्सव पनि बनेको छ।”