अध्यक्ष तिमिल्सिनासँग जापानी संसदीय मैत्री समूहका सदस्यको शिष्टाचार भेट

काठमाडौँ - राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेका जापान(नेपाल संसदीय मैत्री समूहका सदस्यहरुले शिष्टाचार भेट गरेका छन् ।

जापानको माथिल्लो सदनका सदस्य तथा जापान नेपाल संसदीय मैत्री समूहका सदस्यहरु कोबयासी काजुहिरो र नागाई मानाबुले बुधबार सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् ।

भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपाल र जापान दुबै देशहरु प्रजातान्त्रिक मूल्य र मान्यतामा समान दृष्टिकोण राख्दै आएको बताउँदै नेपालमा लोकतन्त्र र प्रजातन्त्रको विकास र सुदृढीकरणमा जापान सरकारले निरन्तर पुयाउँदै आएको सहयोगको लागि धन्यबाद दिए ।

नेपाल र जापानबीच निकट मित्रता, पारस्परिक सम्मान, समझदारी र सहयोगमा आधारित सम्बन्ध रहेको उल्लेख गर्दै उच्चस्तरीय भ्रमणको आदानप्रदान र आपसी भेटघाट र द्विपक्षीय छलफलले नेपाल र जापानवीच रहिआएको सौहार्दपूर्ण सम्बन्धलाई अझ प्रगाढ र उच्च बनाउन ठूलो योगदान पुयाएको बिश्वास ब्यक्त गरे ।