सुन तस्करी छानबिन गर्न आयोग गठन हुने

काठमाडौँ - सङ्घीय संसद्का दुवै सदनको गतिरोध हटाउने सन्दर्भमा सहमति जुटाउनका लागि सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताको बैठक बुधबार बस्ने भएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार संसद्को काम कारबाही सुचारु गर्नका लागि प्रमुख प्रतिपक्षी दलका माग सम्बोधन गर्ने गरी निर्णायक संवाद गर्न शीर्ष नेताहरू छलफलमा जुट्ने भएका हुन् ।  

उनले प्रतिनिधि सभाका राष्ट्रिय मान्यता प्राप्त दलबिच सोमबार सम्पन्न बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमाले को माग अनुसार नै जाँचबुझ आयोग ऐन, २०२६ अनुसार आयोग गठन गर्ने सन्दर्भमा शीर्ष नेताहरूबिच छलफल हुने बताए । नेता लेखकसँगै एमाले उपाध्यक्ष एवं संसदीय दल उपनेता सुवासचन्द्र नेम्वाङ र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सम्मिलित समितिले छानबिन आयोगको कार्यविधि तयार गरेको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा सोमबार राति बसेको राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठकले समिति गठन गरेको हो ।उनले भने , “दलहरूबिचको सहमति अनुसार आयोगको कार्यविधि तयार गर्न गठित समितिले सहमतिको मस्यौदा करिब करिब टुङ्ग्याएको छ । अब शीर्ष नेताहरूबिच छलफल भएपछि नेतृत्व कसले गर्ने, काम कसरी अघि बढाउने भन्ने सन्दर्भमा अन्तिम निर्णय हुने छ ।