'खराब कर्जा बढ्नुको कारण बैंकहरूले प्रभावकारी मनिटरिङ नगर्दा नै हो' : गभर्नर अधिकारी

असार ९, काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीमा सुधार नआउँदासम्म बैंकको खराब कर्जा पनि घट्न नसक्ने धारणा राखेका छन् ।

नेपाल आर्थिक पत्रकार संघ नाफिजले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले यस्तो दाबी गरेका हुुन् ।

देशको अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण भएको बताउँदै उनले सो क्षेत्रमा सुधार नआउँदासम्म बैंकिङ क्षेत्रको खराब कर्जा र समग्र अर्थतन्त्रमा पनि सुधार हुन नसक्ने धारणा राखेका हुन् ।

‘सहकारीको विषयमा सोच्न अबेला भइसकेको छ, अर्थतन्त्रमा सहकारको भूमिका ठूलो छ, सहकारीहरु बैंकजस्तो भएर अगाडि बढ्दा समस्या देखिएको हो, हामीले सहकारीम दोस्रो तहको नियामक आवश्यक छ भनेर २० वर्ष अगाडिदेखि भन्दै आएका थियौं । तर, कार्यान्वयन हुन नसक्दा समस्या आएको हो,’ उनले भने, ‘यो समस्या समाधान नहुँदासम्म बैंकको खराब कर्जा पनि घट्दैन, अर्थतन्त्रमा पनि सुधार आउँदैन ।’