विकास लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक : मन्त्री नारायणकाजी श्रेष्ठ

काठमाडौं - उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको बताएका छन् । 

एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीको अन्तर्राष्ट्रिय सङ्गठन (इफाप्का) र नेपाल निर्माण व्यवसायी महासङ्घले संयुक्तरूपमा  बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

पर्याप्त लगानीबाहेक निर्माण उद्योगमा गुणस्तरको अभाव तथा समयमा परियोजना नसकिने परिपाटी देखिएको उपप्रधानमन्त्री श्रेष्ठले बताए। ‘पूर्वाधारमा लगानी’ विषयक अन्तरक्रियामा उपप्रधानमन्त्री श्रेष्ठले परम्परागत शैलीमा काम गरेका कारण पनि नेपालको निर्माण उद्योगमा चुनौती थपिएकाले अब नयाँ शैलीमा काम गर्नुपर्ने धारणा व्यक्त गरे। निर्माणमैत्री ऐन, कानुन नहुँदा निर्माण उद्योगमा समस्या देखिएको स्वीकार गर्दै उनले समयसापेक्ष ऐन, कानुन बनाउन नेपाल निर्माण व्यवसायी महासङ्घजस्ता संस्थाको महत्त्वपूर्ण भूमिका रहने बताए।

भौतिक पूर्वाधार तथा यातायातको क्षेत्रमा विकास गर्न आफूले विभिन्न कार्यदल गठन गरी काम थालिसकेको जानकारी गराउँदै उपप्रधानमन्त्री श्रेष्ठले आफू सबैसँग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए। इफाप्काका अध्यक्षसमेत रहनुभएका नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले नेपालमा मात्र नभएर विश्वभर नै दिगो पूर्वाधार विकासको आवश्यकता बढ्दै गएको बताए।

कमजोर वित्तीय अवस्था तथा प्रविधिका कारण नेपालजस्ता मुलुकलाई दिगो विकासको लक्ष्य हासिल गर्न कठिन भएको अध्यक्ष सिंहले बताए। इफाप्काका महासचिव पनि रहनुभएका नेपाल निर्माण व्यवसायी महासङ्घका सल्लाहकार वीरेन्द्रराज पाण्डेले इफाप्काको उद्देश्यमाथि प्रष्ट पार्दै ४६औँ इफाप्का सम्मेलन आगामी मङ्सिर ४ देखि ८ सम्म काठमाडौँमा आयोजना गर्न लागिएको जानकारी दिए।

इफाप्काका कार्यकारी निर्देशक लेभी भी एस पिरीतुले पूर्वाधारको क्षेत्रमा आ–आफ्नो अनुभव आदान–प्रदान गर्न यस्ता कार्यक्रम निकै उपयोगी हुने बताए । विश्व वन्यजन्तु कोष नेपालका डा. घनश्याम गुरुङले नेपालमा द्रुतगतिमा पूर्वाधार निर्माण भइरहेको र यही बेला दिगो तथा गुणस्तरीय निर्माणमा ध्यान दिनुपर्ने उपयुक्त समय रहेको टिप्पणी गरे।