धनुषा प्रहरी हिरासतभित्रै महिलाको मृत्यु, प्रहरीको गोलीबाट एक घाइते

 धनुषा - धनुषाको हंसपुर नगरपालिकामा प्रहरी र स्थानीयबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ । गए राति सुगानिकास गाउँमा दुई पक्षबीच विवाद हुँदा ३५ वर्षीय दीपा मण्डल घाइते भएकी थिइन् ।

त्यसपछि प्रहरी आई घाइते मण्डललाई पक्राउ गरी कुटपिट गरेको र प्रहरीकै कुटाइबाट उनको मृत्यु भएको स्थानीयको आरोप छ । आक्रोशित स्थानीयहरूले आज बिहानै प्रहरी चौकी घेर्दै नाराबाजी गर्न थालेका थिए । यसपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउण्ड हवाइ फायर र रब्बरको गोली पनि प्रहार गरेको थियो ।

प्रहरीको गोली लागेर एक जना घाइते भएको स्थानीयले जनाएका छन् । आक्रोशित भीडले प्रहरीको तीन वटा मोटरसाइकल पनि जलाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले सुगानिकासमा ढुंगामुढा भएको बताउँछन् । उनले जिल्लाबाट थप प्रहरी पठाइएको र घटना सम्बन्धमा बुझ्न आफू पनि घटनास्थलतर्फ गइरहेको जानकारी दिए ।