टी-२० विश्वकप : इङ्ल्यान्डमाथि दक्षिण अफ्रिका ७ रनले विजयी

काठमाण्डौँ- आइसीसी टी-२० विश्वकप अन्तर्गत सुपर आठको दोस्रो खेलमा इङ्ल्यान्डमाथि दक्षिण अफ्रिकाले विजयी हासिल गरेको छ ।
सेन्ट लुसियास्थित ड्यारेन सामी क्रिकेट स्टेडियममा सम्पन्न खेलमा इङ्ल्यान्ड सात रनले पराजित भएको हो । अफ्रिकाले दिएको १६४ रनको लक्ष्य पछ्याउने क्रममा इङ्ल्यान्डले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १५६ रन मात्रै बनाउन सक्यो ।  

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको थियो। दक्षिण अफ्रिकाका लागि ओपनर ब्याट्सम्यान क्विन्टन डी काकले ६५ रनको योगदान गरे। विकेटकिपर ब्याट्सम्यान डी काकले केवल ३८ बलको सामना गरी चार छक्का र चार चौका प्रहार गरे । 

अर्का ओपनर रिजा हेन्ड्रिक्स भने १९ रन बनाउँदै पेभेलियन फर्किए। ओपनर ब्याट्सम्यानद्वय डी काक र हेन्ड्रिक्सले ८६ रनको साझेदारी गरेका थिए। चौथो नम्बरका ब्याट्सम्यान डेभिड मिल्लरले अविजित ४३ रन थपे। उनले केवल २८ बलमा दुई छक्का र चार चौका प्रहार गरे । 

इङ्ल्यान्डका बलर जोफ्रा आर्चरले तीन विकेट लिए । मोइन अली र अदिल रसिदले एक–एक विकेट हात पारे। ‘सुपर–८’ चरणको ‘समूह–२’मा साविक विजेता इङ्ल्यान्ड र दक्षिण अफ्रिकाको यो दोस्रो खेल हो । यसअघि आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकाले आयोजक अमेरिकालाई १८ रनले हराएको थियो ।

यसैगरी इङ्ल्यान्डले आफ्नो पहिलो खेलमा दुई पटकको च्याम्पियन वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गरेको थियो ।