माताको भेषमा मूर्ति चोरी गर्ने तीन महिला पक्राउ  

काठमाडौँ । प्रहरीले दाङको पर्यटकीयस्थल तुलसीपुर–१९ छिल्लिीकोटमा रहेको कालिका–मालिका मन्दिरबाट मूर्ति र घण्टी चोरी गर्नेलाई पक्राउ गरेको छ ।

माताको भेषमा गएर मूर्ति चोरी गर्ने तीन महिलालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले बताए।

उनका अनुसार आज दिउँसो मन्दिरबाट पाँच थान घण्टी र तीन थान मूर्ति चोरी भएको थियो। ती मूर्ति चोरी गरेको आरोपमा तुलसीपुर–१७ वनकट्टी निवासी तिला वली, सुन्तली बस्नेत र छपन्या चौधरीलाई पक्राउ गरिएको हो।

उनीहरु तीनै जनाले आफूहरु माता रहेको र भगवान्ले घण्टी माग  गरेको भन्दै मूर्ति र घण्टी ल्याएको बताएका छन्।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुनले उनीहरुविरुद्ध जाहेरी दिन लागिएको बताएका छन्।  उनीहरुलाई सार्वजनिक सम्पत्ति चोरीविरुद्ध मुद्दा चलाउने तयारी भएको अध्यक्ष पुनले बताए।