श्रीमतीको हत्या गरी घरभित्रै शव गाडेर भारत भागेका दाजुभाइ पक्राउ

काठमाडौँ । धनुषामा एक महिलाको हत्या गरेको आरोपमा उनका श्रीमान् र जेठाजु पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको सहिदनगर नगरपालिका–७ नेमुवाटोलका ५५ वर्षीय सुदीप ठाकुर र ६० वर्षीय उदित ठाकुर रहेका छन् । दुवैमाथि ४५ वर्षीया रेखादेवी ठाकुरको हत्या गरेको आरोप छ ।

सात महिनाअघि श्रीमतीको हत्या गरी सुदीप आफ्ना दाइ उदितसँगै फरार थिए । दुवैजनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सुदीप रेखादेवीका श्रीमान् तथा उदित जेठाजु रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।

गत कात्तिक १० गते रेखादेवीको उनका श्रीमान् सुदीपसँग विवाद भएको थियो । विवादकै क्रममा सुदीपले टाउकोमा बञ्चरो प्रहार गरेपछि रेखादेवीको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाको भोलिपल्ट सुदीपले आफ्नै घरभित्र खाल्डो खनी रेखादेवीको शव पुरेका थिए । उनले घटनाबारे सहोदर दाजु उदितलाई जानकारी गराएको अनुसन्धानका क्रममा खुलेको प्रहरी नायव उपरीक्षक (डिएसपी) अवालेले बताए ।

‘घटनापछि दुवै दाजु–भाइ भारत भागेका थिए,’ डिएसपी अवाले भने । कात्तिक ३० गते घर फर्किएका दाजुभाइले खाल्डोबाट रेखादेवीको शव निकाली बोरामा हालेर सहिदनगर–७ नेमुवाटोल नजिकै खोल्सामा फालेको खुलेको छ ।

हत्याको लामो समयपछि आमा बेपत्ता भएको बारेमा रेखादेवीका छोराले प्रहरीलाई खबर गरेको डिएसपी अवालेले बताए । अनुसन्धानका क्रममा रेखादेवीको हत्या भएको खुलेको उनले बताए ।

डिएसपी अवाका अनुसार घटनास्थलबाट हत्यामा प्रयोग भएको बञ्चरो र कोदालो पनि प्रहरीले बरामद गरेको छ । शवको टुक्रा पनि फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको डिएसपी अवाले जानकारी दिए ।