कांग्रेस नेता निधिले भने__'उपनिर्वाचनमा पनि सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुन्छ' 

काठमाण्डौँ - नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वैशाख १० मा हुने उपनिर्वाचनमा पनि सत्ता गठबन्धनभित्र छलफल गरेर साझा उम्मेदवार तय गरिने बताएका छन् ।

उनले कतै नेपाली कांग्रेसबाट त कतै अन्य पार्टीबाट हुने गरी गठबन्धनबाटै साझा उम्मेदवार तय गरिने बताएका हुन्।

वैशाख १० मा चितवन क्षेत्र नम्बर २, बारा क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदैछ। यी ठाउँमा सत्ता गठबन्धनबाटै साझा उम्मेदवार तय गरेर चुनावमा जाने निधिको भनाइ छ।

‘वैशाख १० मा हुने उपनिर्वाचनमा सत्ता  गठबन्धनबीच सहमति गरी उम्मेदवार तय गरिन्छ,’ सप्तरीमा मंगलबार भएको कार्यक्रममा निधिले भने, ‘कतै कांग्रेस त कतै गठबन्धनभित्रकै पार्टीबाट उम्मेवारी रहन्छ।’

उनले दुईरतीन दिनभित्र केन्द्रमा अहिलेकै सरकार बिस्तार हुने र त्यसपछि प्रदेशहरूमा पनि गठबन्धनबाटै सरकार बन्ने बताए। ‘प्रदेश सरकारमध्ये केहीमा कांग्रेसले नेतृत्व गर्छ, केहीमा सरकारमा सहभागी दलका अरूले गर्छन्। तर पाँच वर्ष गठबन्धनबाटै सरकार चल्छ,’ उनले भने।

निधिले कांग्रेस र माओवादीसहित अहिलेको सत्ता गठबन्धनलाई कसैले हल्लाउन नसक्ने दाबीसमेत गरेका थिए। ‘सरकार मात्र होइन अहिलेको संसद पनि ५ वर्ष चल्छ,’ उनले भने, ‘कुनै पनि बाहनामा प्रतिनिधि सभा विघटन हुँदैन।’