माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञा जारी गर्ने प्रशासनको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ - जिल्ला प्रशासन कार्यालय काठमाडौंको माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म माइतीघर–बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको थियो । उक्त निर्णयविरुद्ध मंगलबार अधिवक्ता स्वागत नेपालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।

बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निर्णय गरिएको भन्दै बदरको माग राखेर अधिवक्ता नेपालले रिट दर्ता गरेका हुन् । उक्त रिट निवेदनको प्रारम्भिक सुनुवाइ बुधबारका लागि तोकिएको छ ।