दिनभरीको उतारचढावबीच सेयर बजार बढेर बन्द, १८ अर्ब ९० करोडको कारोबार

काठमाडौँ । बुधबार सेयरबजार परिसूचक नेप्से २.११ अंकले बढेर २९६८.४४ अंकमा बन्द भएको छ ।

नेप्से बुधबार दिनभरीको उतारचढावकाबीच बजार झिनो अंकले बढेर बन्द भएको हो । आइतबार करेक्सन देखिएको सेयरबजारमा सोमबार र मंगलबारको सार्वजनिक विदा पछि बुधबारको बजारमा पनि त्यसको प्रभाव देखिएको हो ।

नेप्से ३ हजार पुग्दा नाफा निकाल्न व्यस्त लगानीकर्ताले बुधबार पनि सोहि कार्यलाई निरन्तरता दिँदा बजारले अपेक्षित बृद्धि लिन सकेन ।

अन्तमा झिनो अंकले नेप्से बढ्दा लगानीकर्ताले कुल १८ अर्ब ९० करोड रुपैयाँको सेयर कारोबार गरेका छन् । जसमा सबैभन्दा धेरै हिमालयन रि इन्स्योरेन्सको कारोबार भएको छ । यो कम्पनीको लगानीकर्ताले आज मात्रै ६६ करोड रुपैयाँको कारोबार गरेका हुन् ।

आज फाइनान्स, विकास बैंक, वाणिज्य बैंक, ‘अन्य’ र लगानी समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा व्यापार समूह छ । यो समूहको परिसूचक २.०९ प्रतिशतले घटेको छ ।

सर्वाधिक परिसूचक वृद्धि फाइनान्स समूहको भएको छ । यो समूहको परिसूचक ४.९९ प्रतिशतले वृद्धि भएको छ ।

आज चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यसरी सेयर मूल्य १० प्रतिशतले वृद्धि हुनेमा कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स र डोल्टी पावर कम्पनी लिमिटेड छन् । कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ ।