नीतिगत लचकताले घरजग्गा कारोबार लयमा फर्किँदै, अब चलायमान होला त ? 

काठमाण्डौँ - आर्थिक शिथिलताले सुस्ताएको घरजग्गा कारोबार पछिल्लो समय बढ्न थालेको छ । राष्ट्र बैंकले एकपछि अर्को खुकुलो नीति अपनाएपछि कारोबार बढेको हो ।

पछिल्लो एकै महिना देशभर ६१ हजार बढी घरजग्गा खरिदबिक्री भएका छन् । मासिक रुपमा देशभर ५० हजार भन्दा कम नै कारोबार हुने गरेको थियो ।

तर, भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार जेठ महिनामा ६१ हजार १६१ वटा घरजग्गा खरिदबिक्री भएका छन् । जुन गत बैशाखको तुलनामा २२.८५ प्रतिशत अर्थात् ११ हजार ३७९ वटा बढी हो । गत बैशाखमा भने देशभर ४९ हजार ७८२ वटा घरजग्गा किनबेच भएको थियो ।

कारोबारसँगै राजश्व संकलन पनि वृद्धि भएको छ । गत बैशाखको तुलनामा राजश्व १५.५२ प्रतिशत बढेर ४ अर्ब ३३ करोड ९२ लाख ४१ हजार रुपैयाँ कायम भएको छ ।

 राष्ट्र बैंकको नीतिगत लचकताले नै कारोबारमा सुधार आएको नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले बताए । विशेषगरि घरजग्गा क्षेत्रमा कर्जा लगानी बढाउन राष्ट्र बैंकले अपनाएको नीतिगत लचकताले कारोबार जेठमा कारोबार बढेको उनले बताए ।