जसपा विभाजनलाई मान्यता दिने कि नदिने आज सर्वोच्चले निर्णय दिँदै

काठमाडौँ - जनता समाजवादी पाटीका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटविरुद्ध हालेको रिटमा आज सुनुवाइ हुँदैछ । सो रिटमाथि सुनुवाइका लागि सोमबार न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासमा पेशी तोकिए पनि हेर्न नभ्याइनेमा परेको थियो ।

उपेन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार विश्वासको मत लिन लागेको र त्यसमा पार्टी विभाजनमा संलग्न रहेको अशोक राईसहित ७ जनालाई सहभागी गराउन रोक्न माग गर्दै रिट दायर गरेका थिए । अशोक राई पक्षीय सात सांसदले विभाजन गर्न माग गर्दै दिएको निवेदनमाा निर्वाचन आयोगले वैशाख २४ गते गरेको निर्णयलाई तत्कालका लागि मान्यता दिने कि नदिने भन्ने विषयमा छलफल गर्न सर्वोच्चले आज रिटका दुवै पक्षलाई बोलाएको छ ।

जेठ २ गते न्यायाधीश विनोद शर्माको एकल इजलासले अल्पकालीन अन्तरिम आदेशमार्फत पार्टी विभाजनको काम कारबाही यथास्थितिमा राख्न आदेश दिँदै अन्तरिम आदेश छलफल प्रयोजनका लागि बोलाएको थियो । आदेशमा निर्वाचन आयोगसमेतलाई पार्टी विभाजनलाई सदर गर्ने निर्णयसहित उपस्थित हुन भनिएको छ ।