छुवाछुतमुक्त राष्ट्र घोषणालाई कार्यान्वयन गर्न सकेका छैनौं : अध्यक्ष नेपाल

काठमाडौं - एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा शुभकामना दिएका छन्।

समाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै उनले लेखेका छन्, ‘नेपालमा दलित समुदायको सशक्तिकरण, प्रतिनिधित्व र सहभागिताका लागि विशेष व्यवस्थाको प्रत्याभूति संविधानले नै गरेको छ। देशलाई छुवाछुतमुक्त राष्ट्र घोषणा गर्नुका साथै त्यसलाई व्यवहारमा लागू गर्न जातीय छुवाछुत र भेदभाव (कसुर तथा सजाय) ऐन २०६८ लागू भइसकेको छ तर छुवाछुतमुक्त राष्ट्र घोषणालाई हामीले अझै अपेक्षाकृत रुपमा कार्यान्वयन गर्न सकेका छैनौं।’

‘जातिवाद तथा रंगभेद विरुद्ध प्रतिवाद गरौं’ भन्ने अन्तर्राष्ट्रिय नारा र ’संवैधानिक तथा कानूनी प्रावधानको प्रभावकारी कार्यान्वयन गरौं, जातीय छुवाछूत तथा भेदभावका विरूद्ध प्रतिरोध गरौं ।’ भन्ने राष्ट्रिय नाराका साथ ५८ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाइँदै छ।

सन् १९६० मार्च २१ मा दक्षिण अफ्रिकाको सार्पभिल्ले भन्ने नगरमा रगंभेदी कानुनविरुद्ध भएको शान्तिपूर्ण जनप्रदर्शनमाथि त्यहाँको राज्यसत्ताले काला जातिका मानिसहरु विरुद्ध गरेको नरसंहारमा ६९ जनाको हत्या भएको थियो भने ३ सय बढी आन्दोलनकारी घाइते भएका थिए।

छुवाछूतलाई कानुनले दण्डनीय अपराधका रुपमा लिए पनि मन्दिर प्रवेशमा रोक लगाइएको, सामाजिक रुपमा बहिष्कार गरिएको जस्ता घटना दिनहुँ सुनिने गरेको छ त्यतिमात्र होइन, हत्याहिंसासम्मका घटनामा समेत राज्यकोतर्फबाट न्यायका लागि ठोस कदम चाल्न नसक्नु विडम्बना भएको उनको भनाइ छ।