क्रिकेटर सन्दीपले गराए लाइपोमाको दोस्रो पटक शल्यक्रिया  

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले लाइपोमाको दोस्रो पटक शल्यक्रिया गराएका छन् ।

गत वैशाखमा पनि सन्दीपले लाइपोमाको शल्यक्रिया गराएका थिए । उनले मंगलबार सिल्भरलाइन अस्पतालमा लाइपोमाको दोस्रो पटक शल्यक्रिया गराएको बताइएको छ ।

उनको शरीरका विभिन्न स्थानमा रहेका ७ वटा गाँठाहरू हटाइएको छ । लाइपोमा भनेको शरीरिमा रहेको नरम तन्तुमा आउन सक्ने बोसोको साधारण डल्लो (ट्युमर) हो।

जिल्ला अदालत काठमाडौँबाट बलात्कार मुद्धामा दोषी ठहर भएपछि सन्दीप राष्ट्रिय क्रिकेट टिमबाट अलग छन् । जिल्ला अदालत काठमाडौँले पुस १३ गते सन्दीपमाथिको बलात्कार मुद्दामा उनलाई दोषी ठहर गरेको थियो । उनीविरुद्ध गत वर्ष भदौमा काठमाडौँस्थित प्रहरी वृत्त गौशालामा बलात्कारको उजुरी परेको थियो ।