ग्लोबल आइएमइ बैंकको नाफा २ अर्ब ४ करोड, अन्य सूचक कस्ता ? 

काठमाडौँ । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्ममा दुई अर्ब चार करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको दोस्रो त्रैमासको तुलनामा २६।५७ प्रतिशत घटी हो ।

गत आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ७८ करोड ११ लाख ६५ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेको छ भने सञ्चालन आम्दानी घटेको छ । यो अवधिमा बैंको खुद ब्याज आम्दानी ३७.९९ प्रतिशतले बढेर ९ अर्ब २ करोड ८७ लाख ९० हजार रुपैयाँ पुगेको छ ।

यस्तै सञ्चालन नाफा २५.०८ प्रतिशत घटेर २ अर्ब ८४ करोड ३० लाख १६ हजार रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा १ अर्ब २७ करोड रुपैयाँ ऋणात्मक रहको छ । ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २० अर्ब ७३ करोड ९१ लाख रुपैयाँ रहेको छ । बैंकले ४ खर्ब ५४ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ३१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ४० पैसा रहेको छ । यो अवधिमा बैंकको खराब कर्जा २.९२ प्रतिशतबाट बढेर ४.६८ प्रतिशत पुगेको छ ।