सदन अवरोध खुलाउने विषयमा भएन सहमती 

काठमाडौँ - सदन अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले बोलाएको सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरुको छलफल निष्कर्षबिहीन भएको छ ।

सिंहदरबारमा बसेको बैठकमा सचेतहरुले आ-आफ्ना दलका अडान राखेपछि बैठक निष्कर्षबिहीन भएको हो । बैठकपछि कांग्रेस सचेतक सुशीला थिङले अवरुद्ध सदन चलाउनका लागि निकास निकाल्नका लागि छलफल भएपनि दलहरुले आफ्नो अडान कायमै राखेको बताइन् ।

त्यस्तै सदनमा कांग्रेस सांसद सुनील शर्माको अभिव्यक्तिलाई रेकर्डबाट हटाउने वा नहटाउने भन्ने बिषयमा पनि मतभेद कायमै रहेको उनले बताइन्। बैठकमा सभामुख घिमिरेले समितिको नेतृत्व चयन प्रक्रिया बाँकी रहेकाले सदनको अवरोध हटाउनका लागि निरन्तर पहल गर्ने बताउनुभएको सचेतक थिङले जानकारी दिइन् । 

बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सहभागी थिए ।