भारतसँगको असमान सम्बन्ध नसच्याएसम्म विकास असम्भव : बाबुराम भट्टराई

 काठमाडौँ - नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले पार्टी गठन गरेर एजेण्डा उठाउँदैमा वैकल्पिक शक्ति बन्न नसकिने टिप्पणी गरेका छन् ।

आज डा मुक्ति रिजालद्वारा लिखित ‘बाबुराम एक दूरदर्शी विद्रोही’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले वैकल्पिक अवधारणा, सोच, नीति र कार्यक्रम लिएर जानु मात्र वैकल्पिक शक्ति भएको भन्दै पार्टी गठन गर्दैमा वैकल्पिक नहुने बताए ।

उनले भने, ‘पार्टी गठन गर्ने, चार जना मान्छे जम्मा हुने, एउटा नेता हुने, एक खालको एजेण्डा उठाइ दिने वैकल्पिक भन्ने जस्तो देखिन्छ त्यस्तो हुनु हुँदैन । जसले वैकल्पिक अवधारणा, वैकल्पिक सोच, नीति कार्यक्रम र विश्व र नेपाल सुहाउँदो नीति व्यवहार र आचरण लिएर जान्छ त्यो नै वैकल्पिक भएर आउँछ ।’

उनले भारतसँगको असमान सम्बन्ध नसच्याएसम्म नेपालको विकास हुन नसक्ने भन्दै यसलाई तथ्यको आधारमा नयाँ पुस्ताले अघि बढाउनुपर्ने बताएका छन् । उनले भने, ‘म कसैलाई गाली गर्ने पक्षमा छैन् । तर भारतको अर्थतन्त्र ठूलो छ, हाम्रो सानो छ । खुला सीमानाले गर्दा प्रतिस्पर्धा गर्नै सकिँदैन्, त्यसले गर्दा भारतसँगको जुन असमान सम्बन्ध बन्यो, त्यसलाई नसच्याएसम्म नेपालको विकास हुँदैन ।’