'ओली नेतृत्वको सरकारलाई गल्ती गर्ने छुट छैन' : विश्वप्रकाश शर्मा

 काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई कांग्रेसले सबै तवरबाट साथ दिएको उल्लेख गर्दै गल्ती गर्ने छुट नभएको बताएका छन् । 

शनिबार प्रज्ञा प्रतिष्ठानमा ‘बाबुराम एक दुरदर्शी विद्रोही’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै महामन्त्री शर्माले ओली नेतृत्वको सरकारलाई गल्ती गर्न दिने छुट कांग्रेसले नदिने बताए । 
उनले भने, ‘एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन कांग्रेसले सबैतिरबाट साथ दिन्छ । तर उत्तिकै खरो रुपमा प्रस्तुत पनि हुनेछौँ । विश्वासको मत दिएका छौँ तर उहाँले विगतमा गरेका गलत मुद्दाहरुलाई थान्को लगाउने काम हुँदैन । उहाँको नेतृत्वको सरकारले गर्ने कमजोरीमा मौन बस्न पनि मिल्दैन । दुई दल मिलेर सरकार बनाउन त मिल्छ तर संविधान संशोधन गर्नका लागि माओवादी, रास्वपा र मधेशवादी दलहरुसँग समन्व गर्न सक्नुपर्दछ ।’

नयाँ सरकार बनेको बेला कतै प्रतिपक्ष कमजोर हुन्छ कि भनेर आम बौद्धिक क्षेत्रमा चिन्ता रहेको उल्लेख गर्दै भर्खरै बाहिरिएका पार्टीहरुले खरो रुपमा प्रस्तुत हुने विश्वास लिएको उनले बताए ।