संखुवासभाको सभापोखरीमा भाइको कुटपिटबाट दाजुको मृत्यु

काठमाडौँ । संखुवासभाको सभापोखरी गाउँपालिका–३, एथुम्बुमा गाउँमा भाइको कुटपिटबाट दाजुको मृत्यु भएको छ। एथुम्बुमा ३८ वर्षीय भाइ प्रवीण राईको कुटाइबाट ४१ वर्षीय दाजु सनमान राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए।

गतराति घरायसी वादविवादमा भाइ प्रवीणले कुटेपछि शारीरिक अपाङ्गता भएका दाजु सनमान गम्भीर घाइते भएका थिए। कुटपिटबाट गम्भीर घाइते सनमानको घटनास्थलमै मृत्यु भएको प्रहरी जबेगुले बताए।

कुटपिटमा संलग्न भाइ प्रवीणलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल संखुवासभामा राखिएको छ। जिल्लामा गत पुस महिनायता मात्र आधा दर्जन व्यक्तिको कुटपिटबाट हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।