न्याय माग्दै आरती साहको परिवारले भेटे प्रधानमन्त्री 

काठमाडौँ । धनुषामा मृत अवस्थामा फेला परेकी आरती शाहको परिवारले न्याय माग्दै प्रधानमन्त्रीसँग भेट गरेको छ । आम जनता पार्टीका अध्यक्ष प्रभु साह नेतृत्वमा बालुवाटर पुगेका पीडित परिवारले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका हुन् ।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले आरतीका परिवारले न्यायका लागि गरिरहेको संघर्षबारे आफू जानकार रहेको बताउँदै पीडित परिवारलाई न्यायका लागि पहल गर्ने आश्वासन दिएका छन् ।

आरतीका लागि न्याय माग्दै उनका बुबा विनोदप्रसाद साह, दाजु प्रेम साह लगायत बालुुवाटर पुगेका हुन् । गत जेठ ७ गते जनकपुरधाम उपमहानगरपालिका–९ स्थित थापाचोकमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी आरतीका माइतीपक्षले त्यसलाई आत्महत्या नभई दाइजोको निहुँमा हत्या भएको भन्दै गत असार १ गतेदेखि निरन्तर काठमाडौँमा धर्नामा बस्दै आएको छ ।

पीडित परिवारले आरती साहको हत्यामा उनका सासु, ससुरा, श्रीमान् र देवरको संलग्नता रहेको दाबी गर्दै आएको छ । प्रहरीले मृतक आरतीका श्रीमानलाई मात्रै पक्राउ गरेको भन्दै चारै जनालाई पक्राउ गरेर अनुसन्धान थाल्नुपर्ने पीडित परिवारको माग छ ।