मंकीपक्स सङ्क्रमणको जोखिममा नेपाल  

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंकीपक्स सङ्क्रमणको जोखिममा नेपाल रहेको जनाएको छ।

मंकीपक्स भाइरसको सङ्क्रमण छिमेकी देश भारतमा द्रुतरूपमा फैलिरहेकाले जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।

‘नेपालमा अघिल्लो वर्ष एक जना विदेशी ६० वर्षीया महिलामा मंकीपक्स सङ्क्रमण देखिएकाले पनि नेपाल मंकीपक्स सङ्क्रमणको जोखिम नरहेको भन्न सकिँदैन,’ उनले भने।

उनले मंकीपक्सको पूर्वतयारीबारे मन्त्रालयले विषय विज्ञसँग सुझाव लिइसकेको बताए।

मन्त्रालयले हवाई तथा सीमा नाकामा रहेका हेल्थ डेस्क तथा सरुवा रोगको निगरानी गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिइसकेको प्रवक्ता डा। बुढाथोकीले जानकारी दिए।

उनका अनुसार मन्त्रालयले सातवटै प्रदेशमा रोगको रोकथाम र व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकेको छ। केही दिनयता अफ्रिकी मुलुक कंगोमा मंकीपक्स भाइरसका घातक प्रजाति ‘क्लेड १ वी’ फैलिरहेको छ। मन्त्रालयका अनुसार जनवरी यतामात्र उक्त भाइरसका कारण पाँच सय ४८ जनाको मृत्यु भइसकेको छ।

विश्व स्वास्थ्य संगठनले पनि मंकीपक्स सङ्क्रमण बढिरहेकाले विश्वव्यापी जनस्वास्थ्य आपतकालीन घोषणा गरेको छ।