नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्रीको आह्वान

काठमाण्डौँ - अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन् । भारतको गुजरात चेम्बर अफ कमर्सले मङ्गलबार गुजरातमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

भर्खरै मात्र भारतसँग दश हजार मेघावाट जलविद्युत् निर्यात गर्ने सहमति भएको र यसले नेपालमा जलविद्युत् उत्पादन प्रोत्साहित हुने र धेरै विद्युत् खपत गर्ने उद्योगलाई समेत प्रशस्त सम्भावनाका ढोका खोलेको उनले बताए । नेपालमा जलविद्युत् बाह्रै महिना सस्तो दरमा उपलब्ध हुने अवस्था आइसकेको, नेपालबाट उत्पादित सामानले भारतमा पनि सहज पहुँच प्राप्त गर्ने हुँदा लगानीमा सहजता बढ्दै जाने क्रममा रहेको मन्त्री महतले उल्लेख गरे ।