प्रदेश सरकारहरू परिवर्तन गर्न जरुरी छ : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अस्थिरताको जगमा खडा भएका प्रदेश सरकारहरू परिवर्तन जरुरी रहेका बताएका छन् ।

शुक्रबार एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा महासचिव पोखरेलले यस्तो बताएका हुन् । उनले भने,  ‘जहाँ नीति विहिनता, उद्देश्य, लक्ष्य विहिनता र नीति नमिल्ने दलहरूबिचको गठबन्धनको अवस्थाबाट सापेक्षित रूपमा वामपन्थी र नयाँ शक्ति मिलेर अहिलेको समीकरण बनेको छ ।’

एमाले प्रधानमन्त्री परिवर्तनको पक्षमा नरहेको बताउँदै उनले एमालेको चिन्ता मुलुक, जनता र राष्ट्रको भविष्यप्रति चिन्तित रहेको बताए ।

‘कतिपयले आलोपालो प्रधानमन्त्री भनेका छन् । तर हामी यो सरकारले राम्रो काम गर्छ भने यसलाई निरन्तरता दिन तयार छौ भनेर भनिराखेका छौँ’, महासचिव पोखरेलले भने, ‘किनकि हाम्रो चिन्ता मुलुक, जनता र राष्ट्रको भविष्यप्रति हो ।’

महासचिव पोखरेलले गणतन्त्र र लोकतन्त्रको सुदृढीकरणका सवालमा सबै पक्षसँग एमाले मिलेर जान तयार रहेको समेत बताए । ‘मुलुकलाई ओरालो यात्राबाट सुरक्षित यात्रामा डोर्‍याउने कुरा नै प्राथमिकता हो’,महासचिव पोखरेलको भनाइ छ । उनले लोकतन्त्रमाथि सङ्कट आएका बेला कांग्रेससँग पनि मिलेर काम गर्नुपर्छ भनेर भनिरहेको बताए ।

नेता पोखरेलले प्रदेशहरूमा देखिएको अस्थिरता राष्ट्रिय राजनीतिमा भएको कोर्स करेक्सनको प्रभाव भएको पनि टिप्पणी गरे । केन्द्रको राजनीतिक समीकरण अनुसार नै प्रदेश सरकारहरू बनेपछि मात्र मुलुकले स्थायित्व प्राप्त गर्ने पोखरेलको दाबी छ ।