गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित  

काठमाडौँ । गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

शुक्रबारको बैठकमा सभामुख कृष्णप्रसाद धितालले अधिवेशन सुरू भएको सूचना पढेर सुनाएका थिए । सूचना सुनाएलगत्तै कार्यसूचीमा प्रवेश नगरी बैठकको अर्को मिति तय नगरी स्थगित गरिएको छ ।

बैठकमा बिना विभागीय मन्त्री हरिबहादुर चुमानले जीवनाशक विषादी व्यवस्थापन सम्बन्ध व्यवस्थापन गर्न बनेको विधेयक संसदमा पेश गर्ने कार्यसूची थियो ।

प्रतिपक्षीको उपस्थिति नभएकाले विधेयक पेश गर्ने कार्यसूची अघि नबढाई सभामुख धितालले अर्को सूचना नआउँदा सम्मका लागि संसद स्थगित गरेका हुन् ।

प्रतिपक्षी दलको उपस्थिति बिनै संसद चलाएर विधेयकसमेत पेश गर्नु अलोकतान्त्रिक र असंवैधानिक हुने कांग्रेस गण्डकीका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए ।

आजको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिष्कार गरेको थियो ।