'मुलुकमा एमाले र नेपाली सेनामा निरन्तर आक्रमण हुँदैछ' : महासचिव पोखरेल

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशलाई कमजोर पार्न सेना र एमालेमाथि आक्रमण भइरहेको बताएका छन् । आज  पार्टी केन्द्रीय कार्यालयमा आयोजित जनसंगठन पदाधिकारीको विशेष भेलालाई सम्बोधन गर्दै उनले मुलुकमा एमाले र नेपाली सेना २ वटा शक्तिमाथि आक्रमण भइरहेको भन्दै यी दुवै शक्तिलाई कमजोर पार्दा नेपाल राष्ट्र कमजोर हुने भएकाले यी घटना बढिरहेको जिकिर गरे । 

सरकार चलाउनेहरू नालायक भए भन्दैमा एमाले सामाजिक अराजकता टुलुटुलु हेरेर बस्न नसक्ने उनले बताए । ‘न्याय र सत्यका पक्षमा एमालेपंक्ति उभिन सक्छ भन्ने मान्यता स्थापित गर्न जरुरी छ,’ उनले भने, ‘हामी सत्तामा छैनौं त्यसैले केही वास्ता छैन भनेर बस्न मिल्छ ? यो सरकार नालायक भयो भन्दैमा एमाले गैरजिम्मेवार बन्न सक्छ ?  समाजलाई सही बाटोमा हिँडाउने दायित्व राज्य सत्ताको हो भनेर हामी उदासिन बन्न सक्दैनौं । शासकहरूका कर्मले फैलिएको निराशा र अराजकतालाई चिर्नका लागि कोही न कोही त अगाडि आउनुपर्छ । त्यो कोही न कोही भनेका एमालेका युवा–विद्यार्थी हुन् ।’

महासचिव पोखरेलले सरकार चलाउनेहरूको कमजोरी र उदासिनताका कारण मुलुक धेरै खाले अराजकता र साम्प्रदायिक विद्वेषतर्फ गइरहेको भन्दै एमाले चुप लाग्न नसक्ने बताएका छन् ।