कात्तिकमा घरजग्गा कारोबारमा गिरावट, २० करोड बढी राजस्व छुट !

काठमाडौँ - कात्तिकमा घरजग्गाको कारोबार घटेको छ । गत आर्थिक वर्षमा असोजमा चाडपर्व परेकोले कारोबार घटेकोमा चालु आर्थिक वर्षमा भने कात्तिकमा कारोबार घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ ।

कात्तिकमा जग्गाको कारोबार घटेसँगै राजस्व पनि घटेको हो । असोजमा २६ हजार ४६ वटा लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

गत आर्थिक वर्षको कात्तिक महिनामा २७ हजार ९३९ लिखत पारित भएकोमा यो वर्षको कात्तिकमा २६ हजार ४६ लिखत पारित भएको छ । दशैं र तिहार पर्वको दुवै बिदा कात्तिकमा नै परेकोले पनि यो वर्ष कात्तिकमा घरजग्गाको कारोबार घटेको हो ।

साउनमा ३९ हजार २६३ लिखत पारित हुँदा भदौमा ३५ हजार ६८६ लिखत पारित भएको थियो । यस्तै असोजमा ३९ हजार ८८१ लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । कात्तिकमा भने घटेको हो ।

गत आर्थिक वर्षको पहिलो चार महिनामा १ लाख २२ हजार २८२ लिखत पारित भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १ लाख ४० हजार ८७६ वटा लिखत पारित भएको थियो ।

घरजग्गाको कारोबार घटेसँगै राजस्व संकलनमा समेत कमी आएको आएको छ । कात्तिक घरजग्गा कारोबारको सेवा कर, रजिस्टेसन दस्तुर र पूँजीगत समेत २ अर्ब १६ करोड ३१ लाख ६१ हजार राजस्व संकलन भएको छ ।

जसमध्ये सेवा कर २० करोड १५ लाख ३५ हजार रजिस्टेसन दस्तुर १ अर्ब ३७ करोड ८ लाख ४४ हजार, पूँजीगत लाभकर ७७ करोड ९ लाख १६ हजार लाभकर संकलन भएको विभागको तथ्यांक छ । कात्तिकमा मात्रै सरकारले २० करोड २२ लाख ९० हजार राजस्व छुट दिएको छ ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा १२ अर्ब २० करोड ६१ लाख ६४ हजार राजस्व संकलन भएको छ । असोजमा ४ अर्ब ८ करोड ६६ लाख २९ हजार राजस्व संकलन भएकोमा भदौमा ३ अर्ब ४ करोड ५९ लाख ४७ हजार र साउनमा २ अर्ब ९१ करोड ४ लाख २७ हजार राजस्व संकलन भएको छ ।