रास्वपा सहमहामन्त्री आचार्यसँग सहकारी छानविन समितिले लियो बयान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यसँग सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले बयान लिएको छ । आइतबार सिंहदरबारस्थित सचिवालयमा आचार्यसँग बयान लिइएको हो ।

सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा जाँदा आचार्यको तर्फबाट गएकोबारे समितिले उनीसँग सोधपुछ गरेको हो । उनले गोर्खा मिडियामा क्रिएटिभ डाइरेक्टरको रुपमा काम गरेका थिए । समितिसँग उनले सहकारीको रकम अपचलनमा आफ्नो कुनै भूमिका नभएको बताएका छन् ।

सहकारी संस्था बचत रकम दुरुपयोग छानविनका लागि निष्कर्षमा पुग्न सरोकारवाला निकाय लगायत सहकारी ठगिमा मुछिएकाहरुलाई कारागारबाट झिकाएर पनि समितिले निरन्तर छलफल गरिरहेको छ । छलफलका साथै प्रतिवेदनको मस्यौदा निर्माणको काम पनि निरन्तर भइरहको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।

यसअघि सदनमा सहकारी प्रकरणमा छानविन गर्नुपर्ने आवाज उठेपछि गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन गरिएको थियो ।