अब श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार तीन सय

काठमाडौँ - सरकारले औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमिक वृद्धि गरेको छ । औपचारिक क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार तीन सय निर्धारण गरेको हो । यस्तै चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्दै १३ हजार आठ सय ९३ तोकिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले निर्धारण गरेको पारिश्रमिक राजपत्रमा प्रकाशित भएसँगै औपचारिक क्षेत्र र चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएको हो ,

वृद्धि भएको पारिश्रमिकमा औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको मासिक न्यूनतम पारिश्रमिकमा १० हजार आठ सय २० आधारभूत पारिश्रमिक र छ हजार चार सय ८० महंगी भत्ता रहेको छ। यस्तै, प्रतिघण्टा रु ८९, दैनिक छ सय ६८ र आंशिक समय मात्र काम गर्ने श्रमिको प्रतिघण्टा ९५ पारिश्रमिक निर्धारण गरिएको छ।

चिया बगानका श्रमिकका हकमा आठ हजार नौ सय ३४ आधारभूत र रु चार हजार नौ सय ५९ महंगी भत्ता गरेर मासिक रु १३ हजार आठ सय ९३ न्यूनतम पारिश्रमिक तोकिएको हो ।