१६ प्रतिशतले बढ्यो घरजग्गा किनबेच, चलायमान होला कारोबार ? 

काठमाडौँ - घरजग्गा कारोबारमा सुधार देखिएको छ । गत आर्थिक वर्ष २०८०र८१ मा देशभर घरजग्गा कारोबार १६ प्रतिशत बढेको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आवमा कुल ५ लाख ३७ हजार २९५ वटा घरजग्गा खरिदबिक्री भएका छन् । जुन अघिल्लो आवको तुलनामा १५।९६ प्रतिशत बढी हो । अघिल्लो आव पनि देशभर ४ लाख ६३ हजार ३२२ वटा घरजग्गा किनबेच भएको थियो ।

आर्थिक शिथिलताका कारण सुस्त रहेको घरजग्गा कारोबार पछिल्लो समय सकरात्मक रुपमा बढेको छ । नेपाल राष्ट्र बैंकले लिएको एकपछिको अर्को खुकुलो नीतिका कारण घरजग्गा कारोबारमा केही सुधार देखिएको हो । घरजग्गा क्षेत्रमा कर्जा लगानी बढाउन केन्द्रिय बैंकले लचिलो नीति लिएको छ। त्यसकै प्रभाव देखिएको घरजग्गा व्यवसायीहरु बताउँछन् ।

राष्ट्र बैंकले व्यक्तिगत आवासीय कर्जाको अधिकतम सिमा पनि बढाएको छ । हाल यस्तो कर्जाको सीमा डेढ करोडबाट बढाएर दुई करोड रुपैयाँ पुर्याइएको छ । यस्तै, घरजग्गा धितोमा प्रवाह हुने कर्जाको जोखिमभार पनि १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशत कायम गरेको छ ।

यता, घरजग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सजकीकरण गरेको छ । राष्ट्र बैंकले कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्याएको छ । यस्ता नीतिगत सहजीकरणले पनि कारोबारमा अघिल्लो वर्षको तुलनामा सुधार आएको हो । पछिल्लो समय आर्थिक गतिविधि पनि बढ्न थालेको छ । बैंकिङ्ग प्रणालीमा पनि लगानीयोग्य रकम बढ्दो छ, ब्याजदर घट्दो छ । यसले आगामी दिनमा अझै बढाउने व्यवसायीहरु बताउँछन् ।