बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा गरे क्षेत्रीय दल बन्ने राप्रपा प्रमुख सचेतक शाहीको चेतावनी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा गरिएमा कर्णालीमा क्षेत्रीय दल बन्ने चेतावनी दिएका छन्।

मङ्गलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक शाहीले आर्थिक वर्ष २०८१।०८२ को बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा गरिएको बताएका हुन्। उनले कर्णाली प्रदेशलाई बजेटमा उपेक्षा गरिए कर्णाली प्रदेशमा क्षेत्रीय दल बन्नसक्ने चेतावनी दिए।

उनले सिङ्गो कर्णाली प्रदेशमा धनुषा र झापा जिल्लाको भन्दा कम बजेट गएको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेपालको मन्त्री हो कि धनुषा र झापाको मात्रै मन्त्री हो भनी प्रश्न गरे।

शाहीले भने, ‘भौतिक मन्त्री नेपालको हो कि धनुषाको मन्त्री होरु म आज सभामुखलाई भन्न चाहन्छु, यो भाषा कर्णालीको हो। यो भाषा संसद्‌मा नबोल्नुस्। संसद्‌मा कर्णालीलाई अपमान गर्नुहुन्छ भने तपाईंहरूले आफ्नो भाषा निर्माण गर्नुस्। २०५६ सालमा कर्णालीका ५ जिल्ला एमालेका लालकिल्ला थियो। २०६४ सालमा माओवादीको किल्ला भएको कर्णाली जब राज्यसत्ताले कर्णालीले आज प्रचण्डलाई प्रचण्ड बनाएको हो। आज तिनै माओवादीका अध्यक्ष प्रधानमन्त्री भइरहँदा केपी ओली सत्तापक्ष दलको संसदीय दलको नेता भइरहँदा कर्णालीलाई बजेट उपेक्षित गरिन्छ भने यहाँ कुनै पार्टी रहेन। यही अवस्था सिर्जित हुन्छ भने कर्णालीमा आफ्नो क्षेत्रीय दल बन्न सक्छ।’

उनले कर्णाली प्रदेशलाई अपमान गर्ने भए कर्णाली प्रदेशको सिंजाबाट आएको नेपाली भाषा नबोली आफ्नै भाषा निर्माण गर्न पनि उनले चेतावनी दिए।