संसद झमेला : सभामुखसहित शीर्ष नेताको बैठक आज दिउँसो बस्ने 

काठमाडौँ - सभामुखसहित शीर्ष नेताको बैठक आज दिउँसो बस्ने भएको छ । संसदमा उत्पन्न गतिरोध अन्त्य गर्न विभिन्न चरणमा सत्ता पक्ष र प्रतिपक्षबीच छलफल भएपनि निष्कर्षविहीन बनेपश्चात आज पुनस्सभामुख देवराज घिमिरेले बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न लागेका हुन् ।

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार आज दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सदन खुलाउने विषयमा प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री ओलीसँग संयुक्त छलफल गर्न लागेका हुन् । समय व्यवस्थापन भए प्रमुख प्रतिपक्ष दल कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि सभामुखले छलफल गर्ने बताइएको छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने अडान राखेको छ ।