इलाम पुगेर ओलीले गरे प्रश्न : देशमा शुसासन ल्याउने एमाले हुँदा हुँदै यति धेरै उम्मेदवार किन ?   

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचनमा अरु उम्मेदवार किन भन्दै प्रश्न गरेका छन् ।

बुधबार इलाममा आयोजित चुनावी सभामा एमालेले छोटो समयमै धेरै काम गरेको बताए । “मलाई त अचम्म लाग्छ । कत्रो बिन उम्मेदवार भएका होलान् । किन उम्मेदवार भएका होलान ? एमाले छँदाछँदै । किन उमेदवार हुनुपर्‍यो,” ओलीले प्रश्न गरे । 

उनले देश बनाउने, शुसासन गर्ने, विकास गर्ने, योजना ल्याउने, काम अघि बढाउने, राजमार्ग बनाउने, महिला उद्यमशीलताका काम एमाले नै गर्ने उनले बताए । उनले जेष्ठ नागरिकलाई अरु बेला कसैले नसम्झिएको बताए । “चुनावका बेला आएर बाबै–आमै भनेर हुन्छ ? एमालेले चार–चार हजार घर–घरमा हातहातमा पुर्‍याएको छ । कुरा मात्रै गर्ने होइन,” उनले भने ।

ओलीले पैसा बाँडेर भोट किन्ने काम एमालेले नगर्ने बताए । “चुनावका बेलामा पैसा बाँडेर, पाँच रुपैयाँ दिएर पछि दिन्छु भनेर भाग्ने काम एमालेले गर्दैन । चुनावमा पैसा बाँडेर भोट किन्ने काम एमाले गर्दैन,” ओलीले भने । उनले इलाम– २ को उपपनिर्वाचनका उमेदवार सुहाङ नेम्वाङले नै जित्ने दाबी गरे ।