रौतहटबाट पोखरा जाँदै गरेको बस ट्रकसँग ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

काठमाडौँ । चितवनको नारायणगढ मुग्लिन सडकअन्तर्गत इच्छाकामना गाउँपालिका(६ जलबिरेमा रोकिरहेको ट्रकमा बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीका अनुसार शनिबार राति टायर पञ्चर भएर रोकिरहेको ट्रकमा बस ठोक्किँदा भारत मोतिहारी जिल्ला चम्पारण बस्ने अन्दाजी ३७ वर्षीय गौरी दासको मृत्यु भएको हो ।

रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग१ख ८५२४ नम्बरको बस ना६ख ३२८० नम्बरको ट्रकमा ठोक्किएको थियो ।

घाइते हुनेमा ट्रक चालक वीरगन्ज २३ बस्ने ३३ वर्षीय हाकिम मिया, बसमा सवार सर्लाहीको बरहथवा नगरपालिकाको मिलनचोक बस्ने २५ वर्षीया पूजा गुप्ता, भारत सितामढी जिल्ला रमनगरा बस्ने ३२ वर्षीय अम्बरनाथ कुमार र भारतको विहार राज्य मजापुर जिल्ला बस्ने ३९ वर्षीया रिता गुप्ता रहेका छन् । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बस चालक नवलपरासी सुस्तापुर्व  कावासोती(१४ बस्ने ३९ वर्षीय लक्ष्मण गुरुङलाई नियन्त्रणमा लिइएको डिएसपी भण्डारीले बताए ।