काठमाडौँ - सरकारले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ फिर्ता लिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त विधेयक फिर्ता लिने निर्णय गरेको जानकारी दिइन् । अब बस्ने प्रतिनिधि सभाको बैठकमा नयाँ विधेयक पेस गर्ने गरी विधेयक फिर्ता लिएको उनले बताइन् ।
यसैगरी सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसको सार्वजनिक बिदा क्यालेण्डरमै समावेश गर्ने निर्णय गरेको छ ।
लगानी इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्दा पालना गर्नुपर्ने विषय तथा सर्त नेपाल राजपत्रमा प्रकाशित गर्न स्वीकृत दिने, मण्डन देउपुर–६, बेथानचोक–२, लिखु–४, रघुगंगा–२, तातोपानी–४, रिब्दीकोट–३, रुरुक्षेत्र–४ र अपिहिमाल–४ गरी आठ स्थानमा औद्योगिक ग्राम घोषणा गर्ने र बर्डफ्लु रोग नियन्त्रणका क्रममा आर्थिक वर्ष २०७९–७९ मा प्रचालिक कानुन बमोजिम नष्ट गरिएका वस्तुहरूको लागि राहत प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।
त्यस्तै, सरकारले यही फागुन १५ देखि १८ गतेसम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ५२ औँ सत्रमा परराष्ट्रमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिएको छ।