धितोपत्र बजारले गति लिंदै, कसरी उठाउने लाभ ? 

काठमाण्डौँ - पुस मसान्तमा धेरै कम्पनीले साधारणसभा सम्पन्न गरी नगद लाभांशसमेत वितरण गर्न शुरू गरेकाले बजार केहि दिनयतादेखि निरन्तर बढीरहेको छ ।

दोस्रो बजारमा मंगलबार मत्रै करिब २ वर्षपछि ८ अर्ब रुपैयाँभन्दा बढीको धितोपत्र किनबेच भएको छ । मंगलवार २ दशमलव ५७ प्रतिशत बढेको बजारमा ८ अर्ब २ करोड ३८ लाख ६२ हजार रुपैयाँ बराबरको २ करोड ३३ लाख ७० हजार ५३ कित्ता धितोपत्र खरिदबिक्री भएको थियो ।

यसअघि २०७८ माघ २० गते ८ अर्ब रुपैयाँभन्दा बढीको धितोपत्र किनबेच भएको थियो । नेपाल स्टक एक्सचेन्ज नेप्सेको तथ्यांक हेर्दा उक्त दिन ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता धितोपत्र किनबेच भएको थियो ।

उक्त दिन धितोपत्रको दोस्रो बजारको समग्र कारोबार मापक नेप्से परिसूचक २ हजार ८७६.७४ विन्दुमा थियो । उक्त समयमा धितोपत्रको दोस्रो बजारको कुल बजार पूँजीकरण ४० खर्ब ६५ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी थियो ।

गत मंसिर २० गतेदेखि नै बजारले गति लिन थालेको छ । वित्तीय प्रणालीमा तरलता सहज हुँदै जानु र बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै जानु धितोपत्र बजारले गति लिनुको प्रमुख कारण रहेको लगानीकर्ताले बताएका छन् ।