घर–जग्गा कारोबार बढ्यो, पुसमा तीन अर्ब २० करोड राजस्व संकलन 

काठमाडौँ - सरकारले घर जग्गा कारोबार नीतिलाई सहज बनाएसँगै किनबेच बढ्न थालेको छ । चालु आर्थिक वर्षको पुसमा मंसिरको तुलनामा घरजग्गा कारोबार बढेको हो ।

भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार पुसमा ४५ हजार २७७ पटक घरजग्गा कारोबार भएको छ भने तीन हजार ९०९ पटक नामसारी भएको छ । गत मंसिरमा भने ४१ हजार ८५१ पटक घरजग्गाको कारोबार भएको थियो । त्यस्तै, तीन हजार २२४ पटक नामसारी भएको थियो ।

यसरी नामसारी र कारोबार बढ्दा मंसिरको तुलनामा सरकारले पाउने राजस्व पनि बढेको छ । पुसमा घरजग्गा कारोबारबाट तीन अर्ब २० करोड ५२ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ । मंसिरमा भने दुई अर्ब ८६ करोड ५० लाख रुपैयाँ राजस्व सरकारलाई प्राप्त भएको थियो ।