घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि

काठमाण्डौँ - चालू आर्थिक वर्ष २०७९र८० को पुस महिनामा घरजग्गा कारोबारमा वृद्धि भएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार घरजग्गा कारोबारमार्फत पुस महिनामा सरकारले ३ अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन गरेको हो ।  

जुन गत मंसिर महिनाको तुलनामा ६५ करोड रुपैयाले धेरै हो । पुस महिनामा भएको १ लाख ३६ हजार ७७३ वटा कारोबारबाट ३ अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन भएको हो । पुसमा देशभरका मालपोत कार्यालयबाट ४५ हजार २७७ लिखत पारित भएको छ। जुन मंसिरको तुलनामा ३ हजार ४२६ ले बढी हो । 

यस महिना ३ हजार ९०९ वटा नामसारी भएकोमा ३५ हजार ४३५ रोक्का र २५ हजार ७४९ फुकुवा भएको छ । तथ्यांकअनुसार पुसमा सबैभन्दा धेरै घरजग्गा किनबेच इनरुवा मालपोत कार्यालयबाट भएको छ।  इनरुवा मालपोत कार्यालयबाट पुसमा १ हजार ९३७ लिखत पारित भएको छ।

दोस्रोमा भद्रपुर  मालपोत कार्यालयबाट १ हजार ७४३, मोरङ बेलबारीबाट १ हजार ६५०, जनकपुरबाट १ हजार ५२०, राजविराजबाट १ हजार २६०, जलेश्वरबाट १ हजार ५७, मलंगवाबाट १ हजार ४५ र तौलिहवा मालपोत कार्यालयबाट १ हजार २ लिखत पारित भएका छन्।

काठमाण्डौ उपत्यकाका जिल्लामा भक्तपुर मालपोत कार्यालयबाट सबैभन्दा धेरै लिखत पारित भएको छ। भक्तपुर मालपोत कार्यालयबाट पुस महिनामा ८७७ लिखत पारित भएको छ।