गैह्रीगाउँ सामुहिक हत्या प्रकरणको अनुसन्धान गर्न पाँच सदस्यीय टोली गठन

काठमाडौँ - उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले तीनकुने गैह्रीगाउँमा भएको सामुहिक हत्या प्रकरणको अनुसन्धान गर्न एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय टोली गठन गरेको छ ।

उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका प्रमुख राठौरको नेतृत्वमा जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका प्रहरी कार्यालयका अधिकृतहरु रहेको समिति बनाएका हुन् ।

समितिका सदस्यहरुमा जिल्ला प्रहरी परिसर, काठमाडौंका डीएसपी हरि खतिवडा, उपत्यका प्रहरी कार्यालयका डीएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयका डीएसपी सुरक्षा केसी र प्रहरी वृत्त, बानेश्वरका निरीक्षक वीरेन्द्र केसी सदस्य रहेको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीले बताए ।

गए राति गैह«ीगाउँस्थित दिव्य सःमिलभित्र धारिलो हतियार प्रहार गरेर एकै परिवारका तीनसहित चार जनाको विभत्स हत्या भएको थियो । मारिनेमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब २० वर्षीय नवीन राई रहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले बताए ।