'दलगत सोचभन्दा माथि उठेर देश बनाउन लाग्नु पर्छ' : सांसद तामाङ

काठमाडौँ - नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङले सबै राजनीतिक नेतृत्व पार्टीगत धारणाभन्दा माथि उठेर मुलुक बनाउन लाग्नुपर्ने बताएका छन् ।

रामेछापमा कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनले सरकार र राजनीतिक दलका नेता मात्र होइन सबै सांसद जनताका हकहित तथा मुलुक समृद्धिमा केन्द्रित हुन नसक्दा द्रुत गतिको विकास हासिल गर्न नसकिएको टिप्पणी गरे ।

कांग्रेस रामेछापका सभापति समेत रहेका तामाङ भन्छन्, ‘सबै नेताहरु देश बनाउने र विकासको कुरा त गर्नुहुन्छ तर यस विषयमा सबै दलबीच राष्ट्रिय सहमति भएको र त्यो व्यवहारमा लागू भएको देखिँदैन ।’

सांसद तामाङले सुन तस्करी प्रकरण, नक्कली भुटानी शरणार्थी, ललिता निवास जग्गा प्रकरणलगायत भ्रष्टाचार र अनियमितताका विषयमा सत्यतथ्य छानबिन गरी त्यसमा संलग्न दोषीलाई जोकेही भए पनि कारबाहीको दायरामा ल्याउन सबै दल एकजुट हुनुपर्ने बताए । ‘यसो गर्न सके मात्र जनतामा दल र नेता कार्यकर्ताप्रति सकारात्मक सन्देश प्रवाह हुन्छ’, उनले भने । तथ्याङ्कसहित सार्वजनिक समाचार हेर्दा कतिपय भ्रष्टाचारका मुद्दामा केही नेतालाई कुनै पनि छानबिन नगरिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै सांसद तामाङले भने, ‘यसमा पक्षपात भएको भन्ने जनताको आरोप छ, भ्रष्टाचार नियन्त्रण गर्ने हो भने कडाइका साथ निष्पक्ष कारबाही आवश्यक छ ।’

आर्थिक वृद्धि, भ्रष्टाचार नियन्त्रण, सुशासनका मुद्दालाई अघि बढाउन सबै दलबीच सहमति र राष्ट्रिय एकता आवश्यक रहेको उल्लेख गर्दै उनले देशलाई विकासको पथमा अघि बढाउन र जनताको आकांक्षालाई सम्बोधन गर्ने काममा एकाकार हुन जरुरी रहेको उल्लेख गरे ।