घरको आँगनमा खेलिरहेकी तीन वर्षीया बालिका बेपत्ता

काठमाडौँ । बाँकेमा घरको आँगनमा खेलिरहेकी तीन वर्षीया बालिका बेपत्ता भएकी छन् ।

खजुरा गाउँपालिका-६ सिमलघारीको वीरेन्द्र पुनकी तीन वर्षीया छोरी लक्ष्मी पुन आइतबार राति आँगनबाटै बेपत्ता भएकी हुन् ।

बालिका पुन आइतबार राति अन्दाजी ८ बजेको समयसम्म आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी निरीक्षक यामबहादुर बुढामगरले जानकारी दिए ।

उनका अनुसार बालिकालाई उनका अभिभावकले नदेखेपछि प्रहरीलाई खबर गरेका थिए । घरको नजिकै सामुदायिक वन रहेको र उक्त वनमा बाघलगायतका जङ्गली जनावरसमेत देखिने गरेकाले बालिकालाई कुनै जङ्गली जनावरले लगेको हुन सक्ने आशङ्का गरिएको उनले जानकारी दिए ।