अर्थमन्त्रीले आफ्ना कार्यकर्ता र आफ्नो क्षेत्रलाई खुसी बनाउने गरी बजेट  ल्याउनुभयो : अध्यक्ष लिङ्देन

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी आर्थिक वर्षको बजेट पूर्वाग्रह राखेर बनाइएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उनले सो बताएका हुन् ।

“बजेट कुन प्रकारले बन्यो, अहिले पूरै हाउस बोलिराखेको छ । कुन प्रकारको पूर्वाग्रह प्रयोग गरियो, अर्थमन्त्रीजीले, मन्त्रीजीहरूले जनताका प्रतिनिधिहरूलाई जसरी पनि छलफलका क्रममा अवरोध नआओस् भनेर खुसी पार्न सूचीहरू माग्नुभयो, उभ्याउनु भयो । र अहिले प्रिन्ट गर्ने बेलामा के–के भयो भन्ने कुरा सबै सार्वजनिक भइसकेको छ,” उनले भने । 

अर्थमन्त्री र मन्त्रीहरूले आफ्ना कार्यकर्ता र आफ्नो क्षेत्रलाई खुसी बनाउने गरी बजेट ल्याएको बताउँदै उनले मन्त्री भएर बजेट छुट्याउने पाउने मौकाको सदुपयोग गर्न मन्त्रीहरू चुकेको बताए । 

ऊर्जा क्षेत्रले नेपालको भविष्य बदल्नसक्ने भएकाले सामान्य हिसाकले खर्च भाग लगाएर र नियमति कार्यक्रमले मात्रै उपलब्धि हासिल गर्न नसकिने उनको भनाइ छ । ऊर्जा उत्पादन र खपतमा विशेष प्रकारको नीति ल्याउन आवश्यक रहेको बताउँदै उनले बजेटप्रति असहमति व्यक्त गर्न मात्रै आफूहरु बजेटमाथिको छलफलमा भाग लिइरहेको बताए ।