स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी प्रणाली लागू , बीमितले उपचार खर्चको १०% रकम तिर्नुपर्ने

काठमाण्डौँ - सरकारले स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी को–पेमेन्ट प्रणाली लागू गरेको छ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ७ मा भएको व्यवस्था बमोजिम को–पेमेन्ट सम्बन्धी कार्यविधि निर्माण गरी आजदेखि कार्यान्वयनमा ल्याएको हो ।

स्वास्थ्य बीमा बोर्डका अनुसार यस प्रणालीमा बीमित नागरिकले स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भई सेवा उपभोग गर्दा तत्काल सेवा प्रदायक स्वास्थ्य संस्थालाई नियमअनुसार तोकिएको केही रकम तिनुपर्ने व्यवस्था गरिएको छ ।

को–पेमेन्ट प्रणालीमा अब बीमितले तोकिएको स्वास्थ्य सेवा लिंदा लाग्ने कुल खर्चको १० प्रतिशत रकम बीमित स्वयंले तिर्नुपर्ने बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले जानकारी दिए । 

स्वास्थ्य बीमा अन्तर्गत बीमितले अनावश्यक चेकअप गर्ने कार्यलाई कम गर्न को–पेमेन्ट सिस्टम लागू गरेको बसौलाले बताए । उक्त प्रणालीमार्फत बीमितहरुले अब १० प्रतिशत खर्च व्यहोनुपर्नेछ । अस्पतालबाट प्रदान गरिने बहिरंग, अन्तरंग, निदानात्मक, उपचारात्मक, शल्यक्रिया, फिजियोथेरापी र पुर्नस्थापना सेवा लिंदा सह–भुक्तानी प्रणालीको व्यवस्था लागू हुने बसौलाले बताए । 


साथै स्वास्थ्य बीमा लागू भएका अस्पताहरुले बीमितबाट लिइएको १० प्रतिशत रकमको बील वा भर्पाई अनिवार्य रुपमा उपलब्ध गराउनुपर्नेछ । साथै ९० प्रतिशत रकम भुक्तानीका लागि नियमअनुसार स्वास्थ्य बीमा बोर्डमा दाबी गर्नुपर्नेछ ।