प्रचण्डले जनतामा भ्रम छर्दै हिँड्न थालेको कांग्रेसको आरोप

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका राष्ट्रियसभाका सांसद किरणबाबु श्रेष्ठले सय दिन पनि नपुग्दै सरकारको विरोध नगर्न प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी) केन्द्रलाई आग्रह गरेका छन्।

प्रजातान्त्रिक मुलुकहरूमा सय दिन पनि नपुग्दै सरकारको विरोध गर्नु, उसको काममा अवरोध गर्ने प्रयास गर्नुलाई उचित मान्न नसकिने उनको भनाइ थियो।

आइतबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ताबाट बाहिरिनेबित्तिकै जथाभावी बोल्ने काम गरेको भन्दै आपत्ति जनाए। दाहालले मुलुक बंगलादेश र श्रीलंका हुने चेतावनी दिएर जनतामा भ्रम छर्ने प्रयास गरेको जिकिर गर्दै सांसद श्रेष्ठले अभिव्यक्ति स्वतन्त्रताको नाममा जथाभावी बोल्दै नहिँड्न चेतावनी दिए।

श्रेष्ठले भने, ‘हिजोसम्म सरकारमा छौँ। सरकारबाट निस्कन पाएको छैन– बंगलादेश र श्रीलंका भन्छौँ। अनि त्यसको हिजोसम्मको दोषको भाग लिने न नलिने ? भ्रम सृजना नगरौँ। प्रजातन्त्र भनेको अभिव्यक्ति स्वतन्त्रता हो। जे मन लाग्यो, त्यही बोल्ने स्वच्छन्दता होइन। गठबन्धनको सरकार बनेको सय दिन नपुग्दै विभिन्न विरोध, बाधा, अवरोध सृजना गर्न थालिएको छ।’

सांसद श्रेष्ठले आफू सरकारमा हुँदा भएको गल्तीको जिम्मेवारी दाहालले पनि लिनुपर्ने बताए।