नेम्वाङको निधनपछि इलाम निर्वाचन क्षेत्र नम्बर–२ रिक्त, फेरि निर्वाचन हुन्छ ? 

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकमा इलाम क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको यही भदौ २६ गते निधन भएपछि उक्त पद रिक्त रहेको जानकारी गराइएको छ ।

सभामुख देवराज घिमिरेले सदनलाई उक्त विषयमा जानकारी गराए । सभामुख घिमिरले भने, ‘विसं २०७९ को निर्वाचनमा इलाम क्षेत्र नं २ बाट निर्वाचन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको यही भदौ २६ गने निधन भएको हुनाले नेपालको संविधान ८९ को खण्ड च बमोजिम प्रतिनिधिसभा सदस्यको उक्त एक पद रिक्त भएको बैठकलाई जानकारी गराउँछु ।’

पूर्व सभामुख समेत रहेका नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्तेष्टि गरिएको थियो । आजको बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उक्त विधेयकलाई लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव पेस गरेका थिए । सभामुख घिमिरले उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेका हुन् ।

बैठकमा सभामुख घिमिरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्बाट आएको पत्रका बारेमा सदनलाई जानकारी गराएका थिए । पत्रमा सहरी विकासमन्त्रीको सीता गुरुङ नेदरल्याण्डमा आयोजना हुन लागेको पूर्वाधार लगानीसम्बन्धी कार्यक्रममा यही भदौ २४ गते प्रस्थान गरेको हुनाले उक्त मन्त्रालयको जिम्मेवारी उद्योग वाणिज्य तथा आपूर्ति रमेश रिजालले सम्हाल्ने उल्लेख छ । प्रतिनिधिसभाको अर्को बैठक आगामी असोज १४ गते आइतबार १ बजे बस्नेछ ।