एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाण्डौँ - नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको आठौं बैठक बुधबार पनि बस्दैछ। ललितपुर बालकुमारीस्थित कान्तिपुर गार्डेनमा बिहान ११ बजेबाट बैठक सुरू हुने प्रचार विभागले जनाएको छ ।

मंगलबार पार्टीको दसौं राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनमाथि छलफल गरिएको थियो । बैठकमा अध्यक्ष माधवकुमार नेपालले  राजनीतिक प्रतिवेदन, नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले प्रस्तुत गरेका थिए ।

ती प्रतिवेदनमा सामूहिक छलफल गर्न १२ समूह बनाइएको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिइन् । पार्टीका नेता साध्यबहादुर भण्डारीले पेस गर्नुभएको पूरक प्रतिवेदनमा राष्ट्रियता, नागरिकता वितरण प्रणालीमा कडाइ गर्नुपर्ने माग गरिएको छ ।