रामेछापको मन्थलीमा टिपर दुर्घटना ,चालकको मृत्यु, सहचालक गम्भीर

काठमाडौँ । रामेछाप सदरमुकाम मन्थली नजिकै टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि आर्का एक व्यक्ति गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीप कुमार सिंहले जानकारी दिए ।

सोमबार बिहान अन्दाजी ६ बजेको समयमा मन्थली नगरपालिका–७ भटौलीबाट बालुवा बोकेर सदरमुकाम मन्थली आउँदै गरेको बा ०१–००६ ख–३८३९ नम्बरको टिपर मन्थली–मुगिटार–खाँडादेवी सडक खण्डको मन्थली नगरपालिका–७ पोडे दहबाट ५० मिटर तल तामाकाकोशी नदी किनारमा खसेर दुर्घटना भएको हो ।

प्रहरीको अनुसार दुर्घटनामा परी  टिपर चालक २० वर्षीय दीपेन्द्र भनिने पवित्र बस्नेतको मृत्यु भएको छ भने सहचालक दोलखा जिल्ला तामाकोशी गाउँपालिका वडा नं ६ च्यामाका २१ वर्षीय मनोज फुयाँल गम्भीर घाइते छन् ।

चालक र सहचालक दुवै जनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारको लागी मन्थली अस्पताल लगिएकोमा चालकलाई बिहान ६ः५५ बजे मन्थली अस्पतालका डाक्टरले मृत घोषणा गरेका डिएसपी सिंहले बताए ।

हात र मुखमा गम्भीर चोट लागेका सह–चालकको अहिले मन्थली अस्पतालमा उपचार भइरहेको डिएसपी सिंहले बताए ।